कैदीबन्दीलाई सीपमुलक तालिम

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ५ गते बुधवार

दाङ :   घोराही कारागारमा कसुर सजाय भुक्तान गर्दै आएका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले सीपमुलक तालिम शुरु भएको छ । कारागार कार्यालय घोराहीको आयोजना तथा समाज कल्याण केन्द्र दाङको समन्वय एवम् घोराही उपमहानगरपालिका १५ को आर्थिक सहयोग र नयाँ पाइला पुर्नस्थापना केन्द्रको सौजन्यमा पाँच दिने सीपमुलक तालिम शुरु गरिएको छ । 

समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यमा आजबाट सीपमुलक तालिम शुरु भएको हो । कार्यक्रममा जेलर बासुदेव खनालले अनौपचारिकतालाई प्राथमिकता दिँदै कैदीबन्दीलाई असल र इमानदार मानिस बनाउने अभियानमा लागेको बताए। गाँस, बास र कपासको व्यवस्थामा कैदीबन्दीको अधिकारको विषय भएकाले उनीहरूलाई कानुनले वर्जित गरेको विषय बाहेक अरु कुरामा स्वतन्त्रता दिनुपर्ने मान्यताका साथ अहिले काम भइरहेको बताए।

खासगरी कैदीबन्दीहरूलाई दण्ड गृह, अपराध गृह नभई चेतना गृह, सुधार गृहका रुपमा स्थापित गर्दै मानिस बनाउन आचरण सुधारसँगै नैतिकवान् बनाउने काम भइरहेको उनको भनाई छ । सो अवसरमा कारागारमा बस्दै आएका कैदीबन्दीलाई सीपले सम्मान दिने तथा आत्मनिर्भर बनाउँदै सभ्य नागरिकको पहिचान दिलाउने काम गर्ने हुँदा सकारात्मक बाटोमा अघि बढ्न हौसला दिने काम भइरहेको वक्तारहरूको भनाई थियो ।

३ सय २४ जना कैदीबन्दी मध्ये केहीले अहिले पनि आफूसँग भएको सीपलाई उत्पादनसँग जोडेर मासिक १० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाउँदै आएको हुँदा सबै व्यक्ति कुनै न कुनै सीपमा जोडिन सके भोलिका दिनमा समाजमा सहज रुपमा बाँच्न सजिलो हुने अपेक्षाका साथ यो अभियान अघि बढाइएको वडाअध्यक्ष पाण्डेले बताए । सीप सिकेर आगामी जीवन सफल बनाउन सकिने धारणा राख्दै उनले कारावास जीवनलाई सीपयुक्त बनाउँदै भोलि समाजमा जाँदा सक्षम व्यक्ति बनेर जान आग्रह गरे । 

उनले व्यक्ति सक्षम भए समाजले पनि सहज रुपमा स्वीकार गर्ने वातावरण बन्ने हुँदा सीपबाट उत्पादन भएका बस्तुलाई बजारीकरणमा स्थानीय सरकारले भूमिका खेल्ने बताए । उद्घाटन समारोहमा जीवन उपयोगी सीपका बारेमा प्राध्यापक सुन्दर गौतमले धारणा राखेका थिए। मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेतले सजाय भुक्तानपछि परिवार र समाजमा अन्तरघुलन हुने वातावरण बनाउन व्यक्ति सक्षम हुनुपर्ने बताए । कैदीबन्दीहरुले मैनवत्ती, अगरबत्ती, सरफ बनाउने तालिम लिनेछन् । तालिमको मुख्य प्रशिक्षकमा विष्णु थापा रहेका छन् । केन्द्रिकी सदस्य पार्वता योगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण विन्दु दाहालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार