धुनमा गीत बनेका गायक राई 

Author Logo..
तुफान बाबु श्रेष्ठ  २०७९ भाद्र ३१ गते शुक्रवार


दाङ :    तिमी धुन बन म गीत गाउँछु, 

    तिमी ताल देउ म सुर बन्छु सङ्गीतको,

  सातै स्वरले सुन्दर तिम्रो मन सजाउँला,

 रागको रङ्गेलीले हाम्रो जीवन रंगाउँला  

मन साटेपछि अनि मुटु गाँसेपछि धुन र गीतका कुरा आउँछन् । जुन र तारा फुल र पातका कुरा आउँछन् । मायामा डुबेपछि मनमा अनेक रोमाञ्चक परिकल्पनाहरु तैरिन्छन् । यस्तै मन आनन्दित बनाउने प्रेमीले परिकल्पनाहरुलाई स्वर र सङ्गीतमा मिसाएर ल्याएका छन् युवा गायक चेतन राईले । सल्यानको माटोमा सङ्गीतको बासना पहिचान गरेका राईले गीतमार्फत सबै नेपालीमाझ सुन्दर वासना छरेका छन् ।  नेपाली सुगम सङ्गीतमा एउटा तारा राईले मायाले मन दुखाउने होइन जीवन रङ्गाउने कुरालाई जोड दिएका छन् । 

गायन, संगित र रचना तिनै विधामा गायक राई यो गीतमा उत्तिकै जमेका छन् । मुटुको अन्तिम गहिराइबाट निकालिएका मोतीदाना जस्ता शब्दले सबैको मनलाई उत्तिकै गहिरोसँग स्पर्श गर्छ ।  गायनको पछिल्लो श्रृंखला संग जोडिएको उनको यो गीत नेपाली सुगम सङ्गीतका लागि बलियो इँटा बनेर जोडियो नै त्यो भन्दा अझ स्वयं चेतनको गायनको एक अब्बल सिर्जना बन्न सक्छ। किनभने समर्पण बिनाको जीवन अत्यास लाग्दो र निराशाले भरिएको हुन्छ। त्यसैले त्यो अवस्थालाई आउनै नदिन उनले यो गीतबाट मार्मिक भाव प्रस्तुत गरेका छन् र करुवा तालमा मीठो, कर्णप्रिय स्वर भरिदिएका छन्।

सेकाइ इन्टर टेन्टमेन्टले प्रस्तुत गरेको यो युगल गीतमा चेतन राईलाई अस्मिता अधिकारीले साथ दिएकी छिन्। गीतको लेखन तथा संगीत चेतनको नै हो। गीतलाई मनोज थापा मगरले एरेन्ज गरेका छन्। मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको उक्त गीतलाई रेकर्डिस्ट राजेश श्रेष्ठले ए वान म्युजिसियन स्टुडियोमै रेकर्ड गरेका हुन्। भिडियोमा प्रियङ्का चौधरी र सागर खनालको अभिनय रहेको छ। भिडियो निर्माणको क्रममा दिया रिजालको शृंगार रह्यो भने उत्पादक म्यानेजर विक्रम तामाङ हुन्।

सौगात धिताल र अनिल कटवालले ड्रोन चलाएको गीतको भिडियोलाई सम्पादन तथा निर्देशन फराज अर्पणले गरेका हुन्। प्राविधिक पक्षतर्फ विशाल राईको योगदान रहेको यो गीतलाई निर्माण पक्षले हेरेर, सुनेर नेपाली कलाकारको हौसला बढाई दिन र प्रतिक्रिया दिन आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार