बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा रहेका भनिएका स्वतन्त्र उम्मेदवारले आफूहरु एमालेकै साथमा रहेको बताएका छन् । कपिलवस्तुका धर्म बहादुरलाल श्रीवास्तव र नवलपरासीका अजय बहादुर शाहीले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका थिए । दुवै प्रदेशसभा सदस्यहरु सूर्य चुनाव चिन्ह लिएर निर्वाचित लुम्विनी प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनीहरु प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको निर्वाचन क्षेत्र नं १ को २ बाट र अजयबहादुर शाही र कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ को १ बाट सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए । विज्ञप्ती जारी गर्दै उनीहरुले आफूहरु एमाले संसदीय दलप्रति उत्तरदायी र प्रतिवद्ध रहेको बताएका छन् । सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृग नारायण पाण्डेयले भने प्रदेशसभा सचिवालयमा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।