दाङ : दाङको तुलसीपुरमा प्लास्टिक विस्थापित लागि झोला उत्पादन तथा गार्मेन्ट तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहयोग एवं तुलसीपुर उपमहानगरपालिका, ग्रीन फाउण्डेसन नेपालको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजनामा एक महिना तालिम सुरु भएको छ । दैनिक जीवनमा हानिकारक मानिने प्लाष्टिकलाई विस्थापित गर्नका लागि गार्मेन्ट उद्योग सञ्चालनका लागि तालिमको सुरुवात गरेको आयोजकले बताएको छ ।
तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जीवन बदल्न सोच बदल्नु पर्नेमा जोड दिए । आत्मनिर्भरका लागि म केही गर्छु भन्ने सोचका साथ अघि बढ्न आग्रह गर्दै नगर प्रमुख पाण्डेले जाँगरका साथ सीप सिक्न आग्रह गरे । आफूले सुती खान भन्दा पनि गरी खान गराउने बताउँदै नगर प्रमुख पाण्डेले सीप सिकेपछि स्वरोजगार बनाउनका लागि तुलसीपुर उपमहानगरपालिका हरेक तहले सहयोग गर्ने बताए । उद्यमी बन्नका लागि यहाँहरूको उत्साह, जाँगर, लगनशीलताको आवश्यक पर्ने बताउँदै सिकेको सीपलाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिए ।
सीप सिकेर आयआर्जनमा लाग्ने उद्देश्यले नै आयोजना गरिएको तालिममा १५ जना महिलाको सहभागिता रहेको छ । नगरपालिकाले सुनौलो अवसरमा दिएको भन्दै यो अवसरमा सदुपयोग गर्नेमा सहभागीले जोड दिएका थिए । बहुप्राविधिक शिक्षालयका प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिशिर खनाल, ग्रीन फाउण्डेसन दाङका सचिव सुरेश रावत, कोषाध्यक्ष खुम प्रसाद भण्डारी, प्रशिक्षक तेज बहादुर केसी, लगायतले तालिमलाई सार्थकमा परिणत गर्न आग्रह गरे । कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेसनका तेज वलीले गरे ।