
तुलसीपुर : ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) शिबबहादुर सिहले बाँके संगै जोडिएको दाङले कोरोना भाइरसको संक्रमण हुन नदिन विषेश सजगता अपनाउन आबश्यक रहेको बताएका छन् ।
सोमबार मात्र सरुवा भएर ईलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मेवारी सम्हालेका उनले समाजमा शान्ति सुरक्षाको अनुभूतिका लागि प्रहरी र नागरिक बीचको सम्बन्ध प्रगाढ हुनु पर्नेमा जोड दिए ।
बुधवार विहान तुलसीपुर क्षेत्रका सञ्चारकर्मीहरुसित आफ्नै कार्यकक्षमा गरिएको संक्षिप्त परिचयात्मक कार्यक्रममा उनले प्रहरीको कार्यशैलीकै कारण नागरिकसितको सम्वन्धमा चिसोपना आउन नदिन प्रहरीले आफ्नो बोली व्यवहारमा समेत सुधार ल्याउन आवश्यक रहेको वताए ।
उनले नागरिकसँग बोल्दा सभ्य र शालीन रूपमा प्रस्तुत हुन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएको समेत डीएसपी सिहले बताए । ‘ नागरिक सँग बोल्दा हजुर भनेर मात्रै कुरा गर्न मातहतलाई निर्देशन दिएछु,’ उनले भने,‘ यदि कुनै प्रहरीले नागरिकलाई तँ र तपाईं भनेको पाईएमा कार्वाही गरिन्छ । ’