
पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राति पहिरोले घर पुरिँदा बेपत्ता भएका १० जनामध्ये ९ जनाको शव भेटिएको छ। पहिरोमा पुरिएका स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीया डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीया कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
पहिरोमा पुरिएका १३ वर्षीय जेनिश विक भने अहिलेसम्म भेटिएका छैनन्। फेला परेका सबै शवलाई पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल ल्याइएको छ। पानी परिरहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीले जानकारी दिएको छ।
आइतबार साँझ ६ बजेबाट २ घण्टासम्म भएको भीषण वर्षापछि घरहरू रहेको ठाउँभन्दा झन्डै ३ सय मिटर माथिको वन क्षेत्रबाट पहिरो खसकेो थियो। पहिरोमा परी मृत्यु भएकाहरूमध्ये कमला, प्रमिशा र बेपत्ता रहेका जेनिश बिक एउटै परिवारका हुन भने मृत अवस्थामा फेला परेका अन्य ६ जना एउटै परिवारका हुन्।