दाङ : नेपाल पत्रकार महासंघ दाङ शाखालाई आइसोलेशन वार्ड निर्माणमा विभिन्न ब्यक्तिहरुले सहयोग गरेका छन् । जिल्लाका संघसंस्था, व्यबसायी तथा पत्रकारहरुले शाखालाई नगद तथा स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेका हुन् । घोराहीका व्यवसायी लेखराज डिसीले कोरोना संक्रमणबाट फ्रन्ट लाईनमा रहेर कामगर्ने पत्रकारहरु संक्रमित भएकोले उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद १० हजार रुपैया सहयोग गरेका छन् । डिसीले नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलाई सोमवार नगद रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै घोराहीकै बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । हस्पिटलले पल्स अक्सिमिटर १ थान, १० लिटर सेनिटाइजर, एक सय ५० थान मास्क, २०० थान ग्लोब्स सहयोग गरेको छ । हस्पिटलका सिईओ बालाराम शर्माले महासंघका अध्यक्ष केसीलाई सोमवार उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङले सञ्चालन गरेको आइसोलेशन ब्यवस्थापन, सञ्चालन र पत्रकार राहत कोषकालागी राप्ती लिकर्स एशोसियशन दाङले ११ हजार, पत्रकार टिका बस्नेतले ५ हजार, पत्रकार देविराम कुसारीले २ हजार ५ सय, तुलसीपुर अनलाइनले २ हजार ५ सय, पत्रकार निशानदाजु भट्टराईले नगद १ हजार, कार्यसमिति सदस्य उमा भण्डारीले १ हजार रुपैया सहयोग गरेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट जिल्लामा १७ जना पत्रकारहरु संक्रमित छन्, भने एक जनाको मृत्यु समेत भैसकेको छ । संक्रमितहरु बढ्दै जादाँ अस्पतालमरुमा वेडको अभाव भएपछि पत्रकार महासंघले आइसोलेशन निर्माण सुरु गरेको थियो ।