दाङमा स्थानीय सरकार र प्रशासन विपद्को पूर्व तयारी, नागरिकहरू भने चिन्तामा

Author Logo..
अनलाइन राप्ती २०७८ असार २ गते बुधवार

 


दाङ :  तुलसीपुर उपमहानगरपालिका ११ मोतिपुरका सुशील बस्नेतलाई  जब वर्षायाम शुरु हुन्छ । अनि मनमा त्यही चिन्ताले सताउँछ । २०७० सालमा बबई नदिमा आएको बाढी गाउँमा पसेर लाखौंको क्षति पु¥याएको दिन । मोतीपुर बबई नदिको तटीय क्षेत्रमा पर्ने भएकाले वर्षौ सालमा गाउँमा बाढी आइरहन्छ ।   तर, २०७० र ७२ सालको जस्तो बाढी गाउँमा त्यसैरी आएको थिएन । उनले फेरि पनि विपदको समय आउन लागेका भन्दै असार देखि असोजको पहिलो हप्तामा सम्म यहाँका नागरिकहरू निकै चिन्तित हुने गरेको बताए । उनले भने,‘ यहाँका मानिसहरू रातभर नसुत्ने अवस्था हुन्छ ।  यो ठाउँ बबई नदिको तटीय क्षेत्र हो । यहाँ बर्सेनी बाढी आउने गर्दछ ।’ बबई नदिको बाढी मात्र  नभई पातुखोलाको बाढी पनि गाउँमा आउने गरेको उनले बताए । उनका अनुसार मोतीपुर क्षेत्रमा करिब ९ सय मिटर तटबन्ध गरिएको भएता पनि त्यसले कुनै काम गर्ने बताए ।   ‘ अहिले विपद्बाट बच्नको लागि स्थानीय सरकार वा प्रशासनले सूचना जारी गरेको छ,’ उनले भने,‘ त्यो अझै गाउँका नागरिक सम्म पुगेको पाइदैन् । त्यसैले त्यस्ता सूचनाहरू प्रभावकारी तरिकाले दिनु पर्ने र जसले गर्दा उनीहरु २४ घण्टा अगाडि सतर्कता अपनाउन सक्छन् ।’    त्यस्तै  राज्यले करोडौँको लगानी गरेर नदि खोलामा तटबन्ध गरेको भएता पनि खोला नदिमा हुने अवैध उत्खननले गर्दा पनि जोखिम रहेको उनको भनाइ छ । बबई नदिको किनारा मै क्रसर उद्योग सञ्चालन भएका छन् । जथाभावी उत्खनन गरिएको भन्दै नदिमा ठूला ठूला खाडल भएको समेत उनले बताए ।   त्यस्तै सोही ठाउँका अर्का स्थानीय तिलक बहादुर बस्नेतले मोतीपुरदेखि पूर्व तर्फ बेलटाकुरा, पश्चिम सुकौरा  दक्षिण तर्फ सरुवा डाँडा धेरै डुबान हुने क्षेत्र भएकाले  बबई नदिको दुबै तर्फ तटबन्ध गर्नु पर्ने अवस्था रहेको बताए ।

 उनले नदिको किनारामा ठूला ठूला रूखहरू रोप्नु  पर्ने समेत बताए । उनले २०७० र ७२ मा आएको बाढीले धेरै ठुलो धनजनको क्षति भएको समेत बताए । त्यस्तै अर्का स्थानीय यज्ञ बहादुर केसीले पनि अविरल वर्षा भएपछि फेरि पनि उही समयको याद आउने गरेको बताए । उनले पनि बबई नदिमा तटबन्ध गरिएको भएता पनि अव्यवस्थित तरिकाले नदीजन्य बस्तु उत्खनन गर्दा तटबन्ध जोखिम  हुँदै गएको समेत बताए । उनले मौसम सम्बन्धी जानकारी सम्बन्धित निकायले समय मै जानकारी दिनु पर्ने समेत बताए ।   मोतीपुर क्षेत्रका मात्र नभइ राप्ती र बबई नदि तटीय क्षेत्रका नागरिकहरूलाई त्यही चिन्ताले सताउने गर्दछ ।  यस पटक मनसुन सक्रिय भएसँगै सरकारले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । दाङ पनि बाढी, पहिरो र डुबान हुने जिल्लामा पर्दछ ।   जिल्लाको देउखुरी क्षेत्र डुबान  र बाढीको जोखिम  भएको क्षेत्रमा पर्दछ, भने,  पहाडी क्षेत्रमा बाढी सँगै पहिरोको पनि जोखिम छ । गत वर्ष पहिरोमा परेर दाङमा २ जनाको मृत्यु भएको थियो, भने अविरल वर्षाका कारण धेरै घरहरू भत्किदाँ करोडौँको क्षति भएको थियो । यस पटक गत वर्षको भन्दा धेरै पानी पर्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएपछि जिल्लाका स्थानीयहरुले विपदबाट बच्नको लागि तयारी रहेको बताएका छन् ।  तुलसीपुर उपमहानगरपालिकाका धेरै वडाहरू पनि जोखिममा रहेको उपमहानगरका विपद् व्यवस्थापन समितका संयोजक नवराज लामिछानेले बताए । उनले उपमहानगरपालिकाले बाढी पहिरोबाट बच्नको लागि तयारी गरिसकेको समेत बताए । जोखिम क्षेत्रका नागरिकहरूलाई सजन रहन आग्रह गरिएको र विपद् सम्बन्धी सूचना गरिएको उनले बताए । उनले यदि विपद् भइ हाल्यो भने पनि त्यसको लागि राहत र उद्धारको लागि पनि टोलीहरू तयार रहेको समेत बताए  । उपमहानगरको उत्तर वडाहरूमा पहिरोको जोखिम रहेका र दक्षिणका वडाहरूमा बाढी डुबानको जोखिम रहेको  उनको भनाइ छ । तुलसीपुरका १९ वटा वडाहरू मध्ये  वडा नं। ११,१२,१३ वडाहरू बाढीको जोखिममा रहेका छ, भने ३,४,१९ नम्बरका वडाहरू पहिरोको जोखिम रहेको समेत संयोजक लामिछानेले बताए ।  

तुलसीपुर उपमहानगरले मात्र नभइ जिल्लाका १० वटै पालिकाले विपद्बाट बच्नको लागि तयारी रहेका छन् । घोराही उपमहानगरपालिकाले पनि पूर्व तयारीका साथ बसिरहेको उपमहानगरका प्रवक्ता भरतमणी आर्यालले बताए ।  घोराही उपमहानगरमा बबई नदि लगायत खहरे खोलाहरूको जोखिम रहेको समेत उनले बताए । विपद्  व्यवस्थापन शाखा तयारी अवस्थामा रहेको भन्दै बबई नदिले जमिन कटान गरि बस्तीलाई जोखिम गर्ने उनले बताए । उनले  अहिले सबै क्षेत्रसँग समन्वय गरेर तयारी रहेको समेत उनले बताए । स्थानीय सरकारमा नभइ प्रशासन पनि तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । जिल्लामा विशेष गरी २ वटा नदीहरूको जोखिम रहेको र अन्य खोलाहरूको पनि जोखिम रहेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडलले बताए । प्रशासनले मनसुन प्रतिकार्य योजना बनाएको समेत उनले बताए । त्यस्तै विपद्को लागि टिम तयार रहेको र कसले के काम गर्ने भन्ने विषयमा स्पष्ट खाका तयार गरेको समेत उनले बताए । त्यसैगरी विपदमा आवश्यक पर्ने सामाग्रीहरूको पनि कुन निकायसँग कति र कस्ता छन्, भन्ने बारेमा पनि अभिलेख गरेको र जुन जुन निकायमा छन् । उनीहरूले नै प्रयोग गर्ने ब्यवस्था गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार