दाङ : तुलसीपुर क्षेत्रको शैक्षिक सुधारका लागि तुलसीपुर उपमहानगरपालिकामा छलफल भएको छ । तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम ल्याउनु अघि तुलसीपुरका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरूलाई बोलाएर बृहत् छलफल गरिएको हो । सो अवसरमा शिक्षकहरूले सामुदायिक र निजी विद्यालय बिचको विभेद अन्त्य गर्नुपर्ने, क्षमता र पूर्वाधार भएका विद्यालयहरूलाई प्राविधिक शिक्षा सञ्चालन गर्न दिनु पर्ने, ड्रपआउट रोक्ने नीति बनाउनु पर्ने, गाउँ सुधार कार्यक्रम नीतिगतमा रुपमा ल्याउनु पर्ने, शैक्षिक सुधार र उपलब्धीका लागि नमुना विद्यालयहरूको शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू राखेको थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले विद्यार्थीबाट शुल्क उठाउने र आफै भत्ता खाने काम तत्काल बन्द गर्नुपर्ने भन्दै वैकल्पिक कोषको व्यवस्था गर्न आग्रह गरे । नगर प्रमुख पाण्डेले कक्षा ८ कुनै पनि नाममा शुल्क लिन नपाइने बताउनुहुँदै नगर प्रमुख पाण्डेले अभिभावक, विद्यार्थी र वस्तु स्थितिको विश्लेषण गरेर शैक्षिक सुधारका योजना ल्याउन आग्रह गरे । कार्यक्रममा संस्कृत विश्व विद्यालयका रजिष्टार माधव अधिकारी, माध्यामिक विद्यालय सेन्टर स्कुलका प्रधानाध्यापक भागवत पौडेल, हिमाल एकाडेमीका प्रिन्सिपल मधुसुदन केसी, जनप्रिय बोर्डिङ स्कुलका प्रिन्सिपल प्रकाश शर्मा, शिक्षकहरू फष्ट बहादुर राना, विष्णु केसी, विजय जिएम लगायतले आआफ्ना धारणा राखेका थिए ।