शरद रेग्मी,
दाङ: जिल्लाका सुरक्षा प्रमुखहरूले जिल्लावासीलाई धन्यबाद ज्ञापन गरेका छन । प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरूको एकै साथ सरुवा भएपछि उनीहरूले आफूहरूको कार्यकाल सफल बनाउन बिभिन्न माध्यमबाट सहयोग गर्नुहुने सबैलाई धन्यबाद ज्ञापन गरेका हुन । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको फेरि भेटौला कार्यक्रममा प्रजिअ दीर्घनारायण पौडेलले कोभिड महामारीको नियन्त्रणमा निजीक्षेत्रले ठुलो योगदान गरेको भन्दै खुलेर प्रशंसा गरे । उनले भने,‘ तुलसीपुरले व्यवसायिक एकता देखाएको छ ।समाजमा आइपर्ने हरेक समस्यालाई समाधान गर्न सहयोगी संस्थाको रुपमा स्थानीय प्रशासनले लिएको छ । बिभिन्न समयमा आइरहने महामारीको समयमा राहत र उद्धारमा अग्रणी भूमिका खेल्ने यस क्षेत्रका सबै व्यवसायीहरू लाई धन्यबाद दिन चाहन्छु ।’ संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख गणेश चन्दले आफू करिब १५ महिना दाङमा सुरक्षाको जिम्मेवारी पुरा गर्दा सबै क्षेत्रबाट महत्वपूर्ण सहयोग प्राप्त गरेको बताए । उनले भयरहित समाज निर्माण गर्नका लागि बिना बर्दीका प्रहरीहरूको भूमिका अझ महत्वपूर्ण रहने बताए ।
सीमित श्रोत साधनका बिच दाङ प्रहरीले गरेका सुधारका प्रयासहरूमा निजीक्षेत्रको उल्लेखनीय भूमिका रहेको बताए । सो अवसरमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले आफूले तुलसीपुरमा सुरु गरेका अभियानहरू सबै सफल भएको भन्दै यस क्षेत्रका नागरिकहरूको चाहना, सुझाब, सहयोग बाटै आफू सफल भएको बताए । गुण्डागर्दी, लागू औषध नियन्त्रण र सभ्य समाज निर्माणका लागि आवश्यक पर्ने सुरक्षा कवचले आफूले अवलम्बन गरेर कार्य सम्पादन गरेको बताए । टोलटोलमा सुरक्षा समिति, स्कुल स्कुलमा नो ड्रग्स कार्यक्रम र ट्राफिक सचेतनाको अभियानलाई जोडतोडका साथ उठान गरेका डीएसपी सिहले कार्यालय परिसरमा समेत उल्लेख्य सुधार गरेका छन । सो अवसरमा निवर्तमान अध्यक्ष वीर बहादुर रावत, पूर्व अध्यक्ष विमल रिजाल, प्रेस सल्लाहकार शरद रेग्मी लगायतकाले बोलका थिए । कार्यक्रमको सहजिकरण महासचिव बिनिल केसीले गरेका थिए ।
को को आँउदै छन्, त सुरक्षा प्रमुखहरू दाङमा ?
जिल्लाको सुरक्षाको बागडोर सम्हाल्न प्रमुख जिल्ला अधिकारीको रुपमा रामबहादुर कुरुवाङ्ग आँउदै छन् , भने जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रमुखको जिम्मेवारीमा प्रहरी उपरीक्षक सुरेश काफ्ले, र इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको जिम्मेवारीमा श्यामु अर्याल आँउदै छन् । यता लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी रबिन्द्र बहादुर धानुकको १५ महिना पछि काठमाण्डौमा सरुवा भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको रुपमा डीआईजी मुकुन्द राज आचार्य तुलसीपुर आँउदै छन् ।