दाङ : घोराही उपमहानगरपालिकाले गाउँ गाउँमा निशुल्क कोरोना परिक्षण शिविर सञ्चालन गरेको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबर्द्धन शाखाले नगर भित्रका गाउँ गाउँमा पुगेर निशुल्क कोरोना परीक्षणको शिविर सञ्चालन गरेको हो । समुदाय स्तरमा कोरोनाको अवस्था पत्ता लगाउने गरि निशुल्क एन्टिजेन परीक्षण थालिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । परीक्षण स्थलमै १५ मिनेटमा कोरोना भए नभएको पत्ता लगाउने गरि एन्टिजेन परीक्षणलाई समुदाय स्तरमा लगिएको उनको भनाइ छ । घोराही उपमहानगरपालिकाले स्वास्थ्यकर्मी सहितको टोलीलाई गाउँ गाउँमा खटाएर परीक्षणलाई शिविर मार्फत सञ्चालन गरिएको छ । कम खर्चिलो, परिक्षण स्थलमै रिपोर्ट आउने, भरपर्दो, सङ्क्रमितको समय मै उपचार व्यवस्थापन सहज हुने भएकाले समुदाय स्तरमा एन्टिजेन परीक्षणलाई तिव्रता दिइएको नगर प्रमुख नरुलाल चौधरीको भनाइ छ ।
कतिपय बिरामीको पिसिआर जाँच गरेपछि रिपोर्ट आउन ढिला हुँदा स्वास्थ्य अवस्था नाजुक र मृत्यु समेत हुने गरेकाले समयमै सङ्क्रमणको पहिचान गर्न यो विधिलाई शिविर मार्फत नगरका वडा वडामा लगिएको नगर प्रमुख चौधरीले बताए । नगरका १९ वटै वडामा निशुल्क शिविर सञ्चालन गर्ने गरि नगर अघि बढेका उनको भनाइ छ । वडा नम्बर ६ मा ५८ जनाको परीक्षणमा एक जनामा र वडा नम्बर १९ मा १६ जनाको परीक्षणमा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । साथै उपमहानगरपालिकाले १९ वटै वडामा रहेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य जाँच गर्ने र परामर्शलाई निरन्तरता दिदै आएको छ । ३ जना सम्मको टोली बनाइ सङ्क्रमितको घरघरमा स्वास्थ्यकर्मी परिचालन गरिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिइन् । सङ्क्रमित भइ घरमै बसेकाहरूको मनोबल बनाउने, स्वास्थ्य जाँच गर्ने, औषधी तथा परामर्श दिने गरी १९ वटै वडाका स्वास्थ्यकर्मीहरू घरघरमै पुगेको उनको भनाइ छ । सङ्क्रतिमतहरुलाई भेट्न वडा अध्यक्ष समेत पुग्ने गरेका छन् । आत्मबल उच्च बनाउन र आवश्यक औषधी एवं स्वास्थ्य सजकता अपनाउन आग्रह गर्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीले पुग्ने गरेका हुन् ।