
तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले कोरोना भाइरसको महामारीले गर्दा नगरका विकास निर्माणका कामहरूलाई प्रभाव पारेको बताईन् ।
शनिवार वडा नं. ६ को चौथो वडा भेला, तथा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रममा बोल्दै प्रमुख अथिती समेत रहेकी उपहानगरले लकडाउनका कारण जीविकोपार्जनमा समस्या भएका नागरिकहरूलाई मध्यनजर गर्दै नगरले श्रम बैंकको स्थापना गरिएको बताईन् ।
उनले वडाका नीति तथा कार्यक्रमहरू समयसापेक्ष भएको भन्दै यसका लागि जनप्रतिनिधिहरू क्रियाशील भएर लाग्नु पर्ने बताईन् ।
वडा नं. ६ ले आर्थिक वर्ष ०७७÷ ७८ को नीति तथा कार्यक्रम शनिबार प्रस्तुत गर्दै यस आर्थिक वर्षको बजेटलाई सडक वर्षका रूपमा घोषणा गरेको छ ।
वडाले पूर्वाधार विकास, सामाजिक र आर्थिक दिगो विकासका लागि यस वर्षको बजेटमा सडक पूर्वाधारको स्तरोन्नतिलाई प्राथमिकता दिएको वडाध्यक्ष नवराज लामाछिानेले बताए ।
वडाले आर्थिक वर्षमा कुल बजेटको ४६.९६ प्रतिशत बजेट पूर्वाधार विकासका छुट्याइएको समेत उनले बताए ।

आर्थिक विकासतर्फ ७.७५ प्रतिशत, सामाजिक विकासतर्फ १०.६० प्रतिशत, सुशासन तथा संस्थागत विकास तर्फ १५.१५ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १६.७७ प्रतिशत र भूमी सहकारी तथा वनतर्फ ३.०३ प्रतिशत बजेट विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरले उपलब्ध गराएको ६६ लाख बजेट सिलिङमा रहेर नीति तथा कार्यक्रम र बजेट तयार गरिएका अध्यक्ष लामिछानेले बताए ।
वडाले सडकहरू कालोपत्रे गर्ने, मर्मत, सम्भार गर्ने, मुख्य सडकमा विरूवा संरक्षण गर्ने, सडक चौडाको मापदण्डअनुसार सडकलाई व्यवस्थित गर्ने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक आईल्याण्डको व्यवस्थापन गर्नेलगायतका योजनाहरू अगाडि सारेको वडाध्यक्ष लामिछानेले बताए ।

यसका लागि वडाले कुल बजेटको ४६.०६ प्रतिशत अर्थात् ३० लाख ३९ हजार नौँ सय ६० रूपैयाँ पुँजीगततर्फ र बाँकी ३५ लाख ६० हजार ४० रूपैयाँ चालुतर्फको बजेटमा बिनियोजन गरेको छ ।
छाडा चौपाया नियन्त्रणका लागि सेवाप्रदायक संस्थासँग सहकार्य गर्ने, बजेट स्रोतको आधारमा आयका योजनाहरूलाई टुक्रे योजनाबाट हटाएर क्रमागत र परिणाममुखी योजनामा जोड दिइने समेत उनले बताए । वडामा स्वच्छ पिउनेपानी व्यवस्थापनलाई व्यवस्थित र सरल बनाउने, बालअधिकारलाई संरक्षण गर्दै आगामी एक वर्षभित्र वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने, नगर र वडालाई आकर्षक हुने गौरवका कार्ययोजनालाई निरन्तरता दिने जस्ता योजनाहरू वडाको प्राथमिकतामा राखिएका छन् । त्यसैगरी कार्यक्रममा उपमहानगरका कार्यपालिका सदस्य अमर नेपाली (माईकल) ले आर्थिक वर्ष ०७७÷७८ नीति तथा कार्यक्रम तथ्यपूरक रहेको बताए ।
वडाको स्तरोन्नतीका लागि गरिएको मेहनत र प्रयास उपलब्धिमूलक भएको बताए । उनले विकास निर्माणको गती सुस्त भएको भन्दै यसलई सुधार गर्दै वडालाई नगरकै उत्कृष्ट वडाको रूपमा स्थापित गर्नुपर्ने बताए । उनले डिपबोर्डिङ सञ्चालन गर्ने र धुलोमुक्त सडक बनाउनेतर्फ ध्यान दिन जरूरी रहेको बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका सह–ईन्चार्ज टोपबहादुर महतरा, राप्रपका नेता छोटीलाल थारू, राजमोका नारायण भण्डारी, पत्रकार महासंघका सदस्य नारायण भण्डारी, पत्रकार गोपाल शर्मा भट्टराई, विकास डाँगी लगाएतको सहभागिता रहेको थियो । वडा सदस्य युवा कराराको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण वडा सदस्य दुजमान भण्डारीले गरेका थिए ।