काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म थप गरेको हो । वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञाले निरन्तरता पाएको हो । पछिल्लो एक साता थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ। निषेधाज्ञाको नयाँ मोडालिटी अनुसार प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ। असार ८ गतेदेखि आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामानका पसल खुल्नेछन्। त्यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ। बारको आधारमा बिहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न पाइने छ। तरकारी, खाद्यान्न र फलफूलका पसल बिहान ११ बजेसम्म खुल्नेछन्। यसअघिको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायम रहनेछ। थप भएको निषेधाज्ञा असार ८ गतेदेखि कार्यान्वयन हुनेछ।