
??
दाङ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उदय जिएमले अनलाइन मिडियालाई पछिल्लो पुस्तालाई पत्रकारिताको अभ्यासका रुपमा आफूले लिएको बताए । शनिवार दाङको घोराहीमा अनलाइन टिभी पत्रकार संघ नेपाल दाङ शाखाको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिएमले अनलाइन मिडियामा केही गल्ती कमिकमजोरीलाई भएको भन्दै त्यस्ता सच्याउनु पर्ने र यसलाई व्यवस्थित, व्यवसायीक, मर्यादित र जिम्मेवार बनाउन आग्रह गरे । साथै उनले संस्थाको दिगोपनाले भोलि महासङ्घकै यसोसीयटका रुपमा स्थापित हुन सक्ने समेत बताए । अनलाइन टिभी पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधि अमृतमान वलीको अध्यक्षतामा भएको भेलामा जिल्ला अध्यक्षमा राजेश खत्री सर्वसम्मत रुपमा चयन भएका छन् । खत्रीको अध्यक्षतामा १३ सदस्य नयाँ तदर्थ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रदीप भण्डारी, सचिवमा एचआर मगर, सह सचिवमा मेघमान बूढा, कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका छन्, भने सदस्यहरूमा सुरेश पन्थी, अंकित खनाल, डमरु प्रसाद निरौला, घनश्याम मुस्कान बिक, श्री नारायण चौधरी, भीम बहादुर वली र वसन्त राना चयन भएका हुन ।
त्यस्तै सल्लाहकार समितिमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति तथा पत्रकार सुशिल बस्नेत, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन र नेपाल पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष नरेन्द्र केसीलाई चयन गरिएको छ । दाङको पश्चिम हापुरे देखी पूर्व देउखुरी सम्मका ५० वढी पत्रकारहरूको उल्लेखनीय सहभागिताबाट सर्वसम्मत रुपमा नयाँ तदर्थ समिति चयन गरिएको केन्द्रीय प्रतिनिधि वलीले जानकारी दिए । त्यस्तै संस्थाले दाङमा अनलाइन टिभीमा काम गर्ने झग्गु भण्डारीलाई सम्मान गरेको छ । उनलाई दाङबाट अनलाइन टिभीको सुरुवात गर्ने पुरानो पत्रकार मध्यबाट सम्मान गरिएको हो । त्यस्तै भेलाबाट सर्वसम्मत रुपमा चयन भएको नयाँ समितिलाई बधाइ दिँदै केन्द्रीय प्रतिनिधि वलीले करिव २ वर्ष अगाडि सङ्गठित भइ नीतिगत रूपमै दर्ता अधिकारिकता पाएपनि यस संस्थाले कोभिडका कारण देशैभर संगठन विस्तार गर्न नसकेको जानकारी दिए । त्यस्तै देशका सबै जिल्लामा गठन प्रक्रिया अगाडि बढिरहेको समेत बताए ।